इरानद्वारा तेल ट्याङ्करमा आक्रमण: विश्वभर इन्धनको मूल्य आकासिने, ट्रम्पको ईरानलाई कडा धम्की,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीका बाबजुद इरानले मंगलबार दुबई तटमा एउटा विशाल कच्चा तेल ट्याङ्करमा ड्रोन आक्रमण गरी आगजनी गरेको छ। कुवेतको झण्डावाहक 'अल-साल्मी' नामक जहाजमा भएको यस हमलाले खाडी क्षेत्रको सैन्य र आर्थिक तनावलाई चरम सीमामा पुर्याएको छ। उक्त जहाज करिब २० लाख ब्यारेल साउदी र कुवेती कच्चा तेल बोकेर चीनतर्फ जाँदै थियो।
यस घटनालगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल आएको छ। यो महिना मात्रै तेलको मूल्य रेकर्ड ५६ प्रतिशत ले बढेर प्रति ब्यारेल ११३ डलर नाघेको छ। अमेरिकामा पनि पेट्रोलको मूल्य तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ।
अमेरिकाले रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मोज' जलमार्ग तत्काल नखोलिए इरानका ऊर्जा केन्द्र र तेल निर्यात गर्ने मुख्य टापुहरू ध्वस्त पार्ने अन्तिम चेतावनी दिएको छ। जवाफमा इरानले क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई आफ्नो निशाना बनाइरहेको दाबी गरेको छ। युद्धका कारण विश्वव्यापी इन्धन आपूर्ति शृङ्खला अवरुद्ध हुँदा विश्व अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने देखिएको छ।