बल्ल थाहा भयो महाकालीमा पुल बनाउन भारतको अनुमति चाहिने रहेछ : हर्क साम्पाङ
तुइन विस्थापन अभियानलाई अघि बढाउँदै दार्चुला पुगेका धरानका मेयर हर्क साम्पाङले व्यास गाउँपालिका–२ दुम्लिङमा झोलुङ्गे पुल निर्माणको शिलान्यास गरेका छन्। स्थानीयको स्वागतबीच उनले घट्टे खोलामा रहेको काठे पुललाई श्रमदानमार्फत झोलुङ्गे पुलमा रूपान्तरण गर्ने काम औपचारिक रूपमा सुरु गरेका हुन्।
शिलान्यासपछि बोल्दै साम्पाङले तुइन विस्थापन गर्ने सपना आफूले तीन वर्षअघि देखेको बताए। एक सानो बालिका तुइन तर्दै गरेको भिडियो देखेपछि मन दुखेको र त्यसपछि दार्चुलामा पुल बनाउने संकल्प गरेको उनले उल्लेख गरे। अहिले त्यो सपना कार्यान्वयनको चरणमा पुगेको भन्दै उनले खुशी व्यक्त गरे।
उनका अनुसार महाकाली नदीमा पुल निर्माण गर्न भारतको समेत अनुमति आवश्यक पर्ने भएकाले त्यसका लागि आफूले पहल गर्ने बताए। “महाकालीमा पुल बनाउन भारतको अनुमति लिनुपर्ने रहेछ, त्यसमा के गर्नुपर्छ म पहल गर्छु,” उनले भने, “कसैले पनि तुइन प्रयोग गरेर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ।”
साम्पाङले आफूहरू कुनै राजनीतिक उद्देश्यले नभई मानवीय सेवाका लागि काम गरिरहेको स्पष्ट पारे। उनले सरकारको बजेट प्रयोग नगरी श्रमदानमार्फत पुल निर्माण गर्ने योजना रहेको र स्थानीयलाई समेत सक्रिय सहयोग गर्न आह्वान गरे।
यसअघि महाकालीमा तुइन विस्थापनका लागि संकलन गरिएको चन्दा रकम अब घट्टे खोलाको झोलुङ्गे पुल निर्माणमै प्रयोग गरिने उनले जानकारी दिए। स्थानीयवासीको साथ र सहयोगमा पुल निर्माण कार्यलाई छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।