मेस्सीको भारत भ्रमण, रिसाएका समर्थकले गरे स्टेडियम तोडफोड,

koseli24.com

रिसाएका समर्थकले स्टेडियम तोडफोड गरे, अत्यधिक भीडपछि साल्ट लेक स्टेडियम छाड्न बाध्य भए लियोनल मेसी

भारत भ्रमणका क्रममा कोलकाताको साल्ट लेक स्टेडियम पुगेका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसी अत्यधिक भीड र अव्यवस्थाका कारण कार्यक्रम बीचमै स्टेडियम छाड्न बाध्य भएका छन्। ‘GOAT India Tour 2025’ अन्तर्गत स्टेडियममा उपस्थित हजारौँ समर्थकले मेसीको झलक नपाएपछि आक्रोश पोख्दै बोतल फ्याँक्ने, ब्यानर च्यात्ने र सिट तोडफोड गर्ने जस्ता गतिविधि गरेका थिए, जसले सुरक्षा अवस्था गम्भीर बनेको थियो।

कार्यक्रमका क्रममा मेसी सम्मानस्वरूप मैदान वरिपरि ‘लाप अफ अनर’ गर्न निस्किएका थिए। तर भीड नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले अवस्था सम्हाल्न नसक्ने देखिएपछि मेसीलाई तत्काल स्टेडियम बाहिर लगिएको थियो। केही समर्थकहरूले आयोजक, सुरक्षाकर्मी तथा राजनीतिक प्रतिनिधिविरुद्ध नाराबाजीसमेत गरेका थिए।

यद्यपि स्टेडियमभित्रको अव्यवस्थाका बीच पनि मेसीको भारत भ्रमण उत्साहपूर्ण नै रह्यो। सोही दिन उनले कोलकातामै ७० फिट अग्लो आफ्नो प्रतिमाको भर्चुअल रूपमा अनावरण गरेका थिए, जहाँ विश्वकप ट्रफी समातेको मेसीको आकृति राखिएको छ। आयोजकहरूका अनुसार मेसी र उनको टोलीले उक्त सम्मानप्रति खुसी व्यक्त गरेका छन्।

१४ वर्षपछि भारत फर्किएका मेसीको आगमनले कोलकातासहित भारतभर फुटबलप्रेमीमा अपार उत्साह देखिएको छ। तर साल्ट लेक स्टेडियममा भएको घटनाले यति ठूलो स्टारको कार्यक्रम व्यवस्थापन र सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। घटनापछि स्थानीय प्रशासन र आयोजकले भीड व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै आगामी कार्यक्रमहरूमा थप सतर्कता अपनाइने बताएका छन्।


प्रतिक्रिया