मलाई पक्राउ गर्न प्रधानमन्त्री शुसिला कार्कीले दबाब दिईरहेकी छिन : के.पि. ओली

koseli24.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीमाथि आफूलाई कुनै पनि अवस्थामा पक्राउ गराउन दबाब दिएको गम्भीर आरोप लगेका छन्। पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार र जिम्मेवारी नाघेर राजनीतिक प्रतिशोधका आधारमा कदम चालिरहेको दाबी गरे।

ओलीका अनुसार प्रधानमन्त्री कार्कीले सम्पत्ति शुद्धीकरण (एएमएल) विभागका प्रमुखलाई बोलाई आफूविरुद्ध मुद्दा चलाउन, प्रमाण जुटाउन र गिरफ्तारी प्रक्रियामा अघि बढ्न दबाब दिएकी थिइन्। तर विभाग प्रमुखले "झूटो काम गर्न सक्दिनँ" भन्दै अस्वीकार गरेपछि उनलाई हटाएर नयाँ अधिकारी ल्याइएको ओलीको आरोप छ।

कार्यक्रममा ओलीले सरकारले हालै लिएर आएका राजदूत फिर्ता, अध्यादेश जारी लगायतका निर्णयप्रति पनि कडा आपत्ति जनाए। उनले सरकारलाई राजनीतिक प्रतिशोध वा विवादास्पद निर्णयभन्दा अलग रहँदै आफूले पाएको जिम्मेवारी र मूल कार्यसूचीमा केन्द्रित हुन आग्रह गरे।

ओलीको यस अभिव्यक्तिले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षबीचको सम्बन्ध फेरि तनाबपूर्ण बनेको छ, जसले आगामी दिनमा राजनीतिक बहस अझ चर्किन सक्ने संकेत दिएको छ।

प्रतिक्रिया