रणवीर सिंह र अक्षय खन्ना अभिनीत बलिउड फिल्म ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा ३०० करोड क्लबमा प्रवेश गरेको छ।

koseli24.com

रणवीर सिंह र अक्षय खन्ना अभिनीत बलिउड फिल्म ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा ३०० करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले दोस्रो शुक्रबार ३४.७० करोड र दोस्रो शनिबार ५३.७० करोड रुपैयाँ कमाइ गर्दै हालसम्म कुल ३०६.४० करोड रुपैयाँको व्यापार गरेको छ।


भारतीय फिल्म व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर’ दोस्रो शनिबार सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ। उनका अनुसार फिल्मको कमाइको गति तत्काल रोकिने संकेत देखिएको छैन। दर्शकको चाप बढेपछि मुम्बईमा राति १२ बजेर ४५ मिनेट र पुणेमा राति १२ बजेर २० मिनेटमा समेत शो सञ्चालन गरिएको छ।


फिल्मको सुरुवाती दिनको तुलनामा पछिल्ला दिनहरूमा कमाइ बढ्दै गएको देखिएको छ। फिल्मको निर्माण पक्ष, प्रस्तुति र प्राविधिक पक्षको चौतर्फी प्रशंसा भइरहेको छ। यद्यपि, कथावस्तु भूराजनीतिक विषयसँग जोडिएकाले फिल्म विवादमा पनि परेको छ।

बलिउड अभिनेता ऋतिक रोशनले फिल्मको मेकिङको प्रशंसा गरे पनि कथावस्तुप्रति असहमति जनाएका छन्। ‘एन्टी–पाकिस्तान’ कथावस्तु भएको आरोप लगाउँदै खाडीका छ राष्ट्रमा फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ। भारतमा भने सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का नेताहरूले खुलेर प्रशंसा गरेपछि फिल्म राजनीतिक बहसको केन्द्रमा समेत आएको छ।

प्रतिक्रिया