भ्रष्टाचार मुद्दामा दोषी ठहर व्यक्ती, एमाले अनुशासन विभागमा निर्विरोध निर्वाचित

koseli24.com

नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा आयोग अध्यक्ष पदका लागि एकल उम्मेदवारी परेपछि पहारी निर्विरोध निर्वाचित भएका हुन्।

भरतराज पहारी यसअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसका डिन रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा विशेष अदालतले २०७५ सालमा पहारीलाई दोषी ठहर गर्दै १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सजाय भोगिसकेपछि उनी हाल पोखरामा होटल व्यवसाय गर्दै आएका छन्।

अनुशासन आयोगको अध्यक्षमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको व्यक्तिको निर्विरोध चयन भएपछि पार्टीभित्र र बाहिर नैतिकता र अनुशासनको विषयमा प्रश्न उठेको छ। यद्यपि एमाले नेतृत्वबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।

यसैगरी, केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध चयन भएका छन्।

एमालेको ११औँ महाधिवेशनमा विभिन्न आयोग तथा समितिहरूमा प्रतिस्पर्धाविनै नेतृत्व चयन भइरहेका छन्। यी निर्णयहरूले पार्टीभित्र अनुशासन, पारदर्शिता र नेतृत्व छनोटको मापदण्डबारे बहसलाई थप चर्काएको छ।

प्रतिक्रिया