"विश्व फुटबलका महान् स्टार लियोनल मेस्सी आज राति भारत ओर्लिन लागेका छन्। ‘गोट टुर टु इंडिया २०२५’ अन्तर्गत उनले कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्लीगरी चार प्रमुख भारतीय सहरहरूको यात्रा गर्ने कार्यक्रम छ। भारतमा उनको आगमनले देशभरका खेलप्रेमी र सेलिब्रिटीहरूमा असाधारण उत्साह देखा परेको छ। कोलकातामा हुने प्रमुख कार्यक्रममा बलिउड सुपरस्टार शाहरुख खान, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र क्रिकेट आइकन सौरव गाङ्गुली पनि उपस्थित हुनेछन्। दिल्लीमा भने मेस्सीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
यसपटकको भ्रमणलाई अझ विशेष बनाएको अर्को पक्ष भनेको ‘मिट एण्ड ग्रीट’ अवसर हो। मेस्सीसँग प्रत्यक्ष भेट गर्न, गफगाफ गर्न र फोटो खिच्न चाहने फ्यानहरूले १० लाख रुपैयाँ तिर्नुपर्छ। आयोजकले चारै सहरमा सीमित १०० जना मात्र सहभागी हुन सक्ने गरी विशेष प्याकेज खुला गरेका छन्। सामान्य दर्शकका लागि भने टिकट मूल्य २ हजारदेखि ८ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ।
कोलकाताको साल्ट लेक स्टेडियममा मेस्सीले उपस्थित हुने कार्यक्रम अत्यन्त भव्य हुने अपेक्षा गरिएको छ। उनलाई सम्मान गर्न भारतमा ७० फिट अग्लो प्रतिमासमेत तयार गरिएको छ, जसको भर्चुअल अनावरण उनी स्वयंले गर्नेछन्। कार्यक्रममा छोटो सेलिब्रिटी–फ्रेन्डली फुटबल म्याचसमेत हुनेछ, जसमा मेस्सीले खेल्ने सम्भावना छ।
कोलकाता कार्यक्रम सकेपछि मेस्सी हैदराबादतर्फ उड्नेछन्, जहाँ उनले राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा ७-भर्सेस-७ प्रदर्शनी खेलको नेतृत्व गर्नेछन्। तेलङ्गाना मुख्यमन्त्री रेवन्थ रेड्डी पनि खेलमा सहभागी हुनेछन्। साँझमा मेस्सीको सम्मानमा सांगीतिक कार्यक्रम आयोजना हुनेछ, जहाँ फ्यानहरूले पुनः उनको साथमा फोटो खिच्ने अवसर पाउनेछन्।
त्यसपछि मेस्सी १४ डिसेम्बरमा मुम्बई पुग्नेछन्। वानखेडे स्टेडियममा उनका लागि विशेष फुटबल कार्यक्रम, सेलिब्रिटी म्याच र च्यारिटी फेशन शो आयोजना गरिनेछ। अर्जेन्टिनी खेलाडी डे पल र मेस्सीका नजिकका साथी लुइस सुआरेज पनि मुम्बई कार्यक्रमका लागि सहभागी हुने अपेक्षा गरिएको छ।
मेस्सीको अन्तिम गन्तव्य नयाँ दिल्ली हुनेछ। प्रधानमन्त्री मोदीसँग भेटपछि उनी ‘गोट कन्सर्ट’ र ‘गोट कप’ नामक विशेष कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ बालबालिकासँग मेस्सीले फुटबल मास्टरक्लास पनि दिनेछन्, जसको उद्देश्य भारतीय युवालाई प्रेरित गर्नु हो।
मेस्सी भारतमा तीन दिन मात्र रहनेछन्, तर यस छोटो अवधिमा उनी सहभागी हुने कार्यक्रमहरूले भारतीय खेलप्रेमीलाई अविस्मरणीय अनुभव दिने निश्चित देखिएको छ। मेस्सी २०११ पछि पहिलोपटक भारत आउन लागेका हुन्—त्यो समयमा उनी साल्ट लेक स्टेडियममै भेनेजुएलाविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेका थिए। आज उनले विश्वकप जितेका कप्तान, एमएलएस च्याम्पियन र विश्वभरका करोडौँ फ्यानका प्रेरणास्रोतको रूपमा पुनः भारत यात्रा गर्दैछन्।