‘केपी ओली भनेको फुटबलको पेले हो पेले, कोही माइकलाल छ केपी ओलीलाई हटाउने ?’ कुनै बेला यस्ता शब्द प्रयोग गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुलेर समर्थन गर्ने नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले भने ओलीको साथ छाडेको घोषणा गरेका छन्।
एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनका क्रममा सचिव पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका श्रेष्ठले ओलीको व्यवहारिक पक्षबाट आफू अत्यन्तै पीडित भएको दाबी गरेका छन्। उनले पार्टीभित्र लामो समयदेखि योगदान दिँदै आए पनि पटक–पटक आफूलाई पाखा लगाइएको गुनासो गरे।
श्रेष्ठले आफू अहिले सचिव पदका लागि उम्मेदवारी दर्ता गर्न लाइनमा बसेको जानकारी गराए। उनका अनुसार उनलाई उपाध्यक्ष पदको प्रस्ताव पनि आएको थियो, तर आफूले त्यो अस्वीकार गर्दै सचिव पदमै अडान लिएको बताए।
“समय र परिस्थितिअनुसार पार्टीलाई अहिले सचिवमा मेरो भूमिका उपयुक्त हुन्छ भन्ने ठानेँ,” श्रेष्ठले भने, “उपाध्यक्षमा जान चाहिनँ, सचिवमै अघि बढ्ने निर्णय गरेँ।”
श्रेष्ठले आफू एमालेको चौथो महाधिवेशनदेखि निरन्तर सक्रिय रहेको स्मरण गराउँदै सचिव पदमा उठ्ने इच्छा पहिलेदेखि नै रहेको बताए। उनले नवौँ र दशौँ महाधिवेशनमा समेत सचिवमा उठ्ने प्रयास गर्दा नाम काटिएको गुनासो गरे। “नवौँ महाधिवेशनमै अध्यक्षज्यूले सचिवमा प्रस्ताव गर्नुभएको थियो, तर अन्तिममा मेरो नाम काटियो,” उनले भने।
उनले पार्टीभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत स्थान नदिइएको प्रसंग उठाउँदै असन्तुष्टि व्यक्त गरे। “मदन भण्डारीको विचारले बनेको पार्टीमा विद्यादेवी भण्डारीजस्तो व्यक्तित्व अटेन भने त्योभन्दा ठूलो अन्याय के हुन सक्छ?” श्रेष्ठको प्रश्न थियो। उनले आफू पनि त्यही प्रक्रियाबाट पीडित भएको बताए।
श्रेष्ठले अब पार्टीभित्र कुनै व्यक्तिलाई भगवान मान्ने संस्कार गलत भएको टिप्पणी गरे। “पार्टी सामूहिक पहलबाट चल्नुपर्छ, व्यक्तिपूजाबाट होइन,” उनले भने।
उल्लेखनीय छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा कृष्णगोपाल श्रेष्ठ ओलीको सबैभन्दा बलियो प्रतिरक्षकका रूपमा देखिएका थिए। सोही समयमा शिक्षामन्त्रीसमेत रहेका उनले ओलीको पक्षमा दिएको “पेले” प्रसंग निकै चर्चित बनेको थियो।
तर एमालेको ११औँ महाधिवेशनसम्म आइपुग्दा, ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठ नै ओलीको कित्ता छाडेर अलग धारमा उभिएका छन्, जसले पार्टीभित्रको आन्तरिक असन्तोष र शक्ति संघर्षलाई अझ स्पष्ट रूपमा उजागर गरेको छ।