निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भ्रामक सूचना प्रवाह गरेको आरोपमा अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ। कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर सार्वजनिक रूपमा गलत दाबी गरिएको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोलाई पत्र पठाएको हो।
निर्वाचन आयोगका अनुसार प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको भन्ने आशयका अभिव्यक्तिहरू सार्वजनिक रूपमा दिएर जनमानसमा भ्रम फैलाएका छन्। यस्ता दाबीहरूले निर्वाचन प्रक्रिया तथा आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने प्रयास भएको आयोगको ठहर छ।
आयोगले साइबर ब्युरोलाई पठाएको पत्रमा प्रसाईंले फैलाएको भनिएको सामग्रीको स्रोत, उद्देश्य र प्रभावबारे विस्तृत छानबिन गर्न निर्देशन दिएको उल्लेख छ। आयोगले भ्रामक सूचना लोकतान्त्रिक प्रक्रियामाथिको आक्रमण भएको भन्दै कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने स्पष्ट पारेको छ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी विषयमा गलत सूचना फैलिन नदिन कडा निगरानी गरिरहेको र यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ। अनुसन्धानको निष्कर्षपछि थप निर्णय सार्वजनिक गरिने आयोगले बताएको छ।